मधेश प्रदेश सभा सचिवालयबाट पदमुक्त गरिएका संजय यादवले सभामुख रामचन्द्र मण्डलले संविधान र कानुन विपरीत कार्य गरेको आरोप लगाएका छन् । उनले सभामुख रामचन्द्र मण्डलप्रति इंगित गर्दै सभामुखको कार्यशैली आपराधिक प्रवृत्तिको रहेको आरोप लगाए । उनीसहित पाँच जना प्रदेश सभा सदस्यहरु पदमुक्त गरिएको खबर बाहिरिएपछि के कति कारणले आफूलाई पदमुक्त गरिएको भनी सूचनाको हक प्रयोग गरी दिएको निवेदनप्रति प्रदेश सभा सचिवालयले सूचना नदिएपछि पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
यादवले भने, ‘आफू ११ बजेतिर नै प्रदेश सभामा सूचना माग्न आएका थियौं । सचिव होमनाथ पहाडीले ५ मिनेट ५ मिनेट दिन्छु मात्र होइन तयार भइसकेको छ छाप लाग्दै भन्दै दिउँसो ४ बजेसम्म कुराए पछि उहाँ कार्यालय छाडेर भागेको छ ।’ सभामुख मण्डलले प्रदेश सभालाई दलीय कार्यालयको रुपमा संचालन गर्न खोजेको आरोप लगाउँदै उनले आफूहरुमाथि भएको अन्याय विरुद्ध संवैधानिक र कानूनी निकासका लागि अदालतसम्म जाने बताए ।
यादवले भने, ‘आफू असोज २८ गते तात्कालिन मुख्यमन्त्री सतिश सिंहको विश्वासको मत लिने बसेको बैठक र पछिल्लो पटक निवर्तमान मुख्यमन्त्री मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिन कार्तिक २२ गते प्रदेश सभामा उपस्थित थिए जसको दृश्यसहित कागजी रजिष्टर अभिलेखसमेत रहेको अवस्थामा अनुपस्थित कसरी भए ।’ उनले थप्दै भने, ‘सभामुखले गरेको यो निर्णय आफूमाथि दर्ता गराइएको महाभियोग प्रस्तावको आवेशमा कुण्ठित मनसायले गरिएको निर्णय हो । यसले संघीयता र संविधानलाई समाप्त पार्न चालिएको कदम हो । हामी जनताबाट जितेर आएका प्रतिनिधिहरु हौं, न्यायका लागि जनतामा समेत जानेछौं ।’
बिहीबार प्रदेश सभाका मुख्य सचिव बासुप्रसाद कोइराला नागरिक उनमुक्ति पार्टीकी सांसद सिंह, यादव, जसपाका सांसदहरु मनिषकुमार सुमन, सप्तरी, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवारलाई लगातार १० वटा बैठकमा अनुपस्थित भएको भनी पदमुक्त गरेका थिए । पदमुक्त गरिएको सूचना प्रकाशन लगतै उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको सूचना निकालेकी थिइन् ।



