मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशलाई मुठभेडमा लैजना खोजेको प्रतिपक्षी आन्दोलनरत सात दलीय गठबन्धन दलले आरोप लगाएका छन् ।
सात दलीय गठबन्धनले शुक्रबार विज्ञप्ति जारी मधेश प्रदेशलाई मुठभेड तर्फ लैजना खोजेकोमा चिन्ता व्यक्त गरे । महाभियोग प्रस्ताव लागेर आफैँ कारबाहीमा परेका सभामुखले यसरी प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने जस्ता कार्य गरेर सम्पूर्ण प्रदेशलाई नै मुठभेडमा लाने खोजेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसका साथै गैरसंवैधानिक र अमार्यदित कार्य कानुन बमोजिम नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सभामुखले लिनुपर्ने चेतावनी गठबन्धनले दिएको छ । सो विज्ञप्तिमा कार्तिक २७ गते मधेश प्रदेशको प्रदेश सभा सचिवालयमा प्रदेश सभाको सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक संचालन नगरेको, पदीय मर्यादा विपरीत कार्य गरेको हुनाले सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको (महाभियोग) प्रस्ताव दर्ता गराउन गएका बेला प्रदेश सभा सदस्यहरुलाई बन्धक बनाइ गाली गलौजसहित अभद्र व्यवहार र गुण्डा बोलाएर हातपात गर्नु गलत रहेको भन्दै घोर निन्दा तथा भत्र्सना गरेको छ ।
त्यस्तै सभामुख मण्डलले पाँच जना प्रदेश सभा सदस्यहरुको पद रिक्त भएको सूचना सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण, असंवेधानिक तथा गैर राजनीतिक हर्कत रहेको भन्दै गठबन्धनले आलोचना गरेको छ । संयुक्त रुपमा जारी सो विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित सात दलीय गठबन्धनका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।




