भारतीय दूतावासले मधेसको राजनीति अस्थिर बनाएको मुख्यमन्त्री यादवको आरोप

४ दिन अगाडी न्युज डेस्क

भारतीय दूतावासले मधेसको राजनीति अस्थिर बनाएको मुख्यमन्त्री यादवको आरोप

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतिय दूतावासका प्रतिनिधिहरूमाथि मधेसको राजनीति अस्थिर पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले वीरगन्जस्थित भारतीय दूतावासको काउन्सलर कार्यालयका अधिकारीहरूले विभिन्न दलका नेताहरूमाथि दबाब र धम्की दिने गरेको आरोप लगाए । उनका अनुसार काउन्सलर कार्यालयका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद गरी ‘दल फुटाइदिन्छु’ जस्ता धम्की दिने गरेको छ । यादवले भने, ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरू नेताहरूलाई धम्काउने, निर्णयमा हस्तक्षेप गर्ने काम गर्ने गरेको छ ।’

सम्बोधनमा मुख्यमन्त्री यादवले आफू तथा सरकारका सदस्यहरू सुरक्षा जोखिममा रहेको तथ्य सुरक्षित निकायले औपचारिक रूपमा बताएको पनि खुलासा गरे । उनका अनुसार सुरक्षा निकायले विशेष रिपोर्ट दिएपछि कार्यक्रमहरू सीमित गर्नुपर्ने बताएका छन् । ‘सुरक्षा चुनौती बढेको भन्दै संवेदनशील भएर काम गर्न सल्लाह आएको छ,’ उनले भने ।

उनले मन्त्री तथा प्रदेशसभा सदस्यहरू समेत सुरक्षा थ्रेटमा रहेको बताए ।

यसै क्रममा मुख्यमन्त्री यादवले मधेसको ‘सच्चा राजनीतिक दल’ नेकपा एमाले रहेको दाबी समेत गरे । लोसपा, जसपा नेपाललगायत दलहरूले आफूलाई मधेशवादी भन्दै नाटक मञ्चन गरेपनि २०७९ को निर्वाचन परिणामले एमाले नै मधेसको ठोस जनसमर्थन पाएको दल भएकोले प्रमाणित गरेको उनले दाबी गरे । उनले मधेशवाद नारामा होइन, व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गरे ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?