जीतपुरसिमराद्वारा पञ्चवर्षीय योजना तय गर्न सुझाव सङ्कलन सुरु

३ दिन अगाडी न्युज डेस्क

जीतपुरसिमराद्वारा पञ्चवर्षीय योजना तय गर्न सुझाव सङ्कलन सुरु

बारा । जीतपुरसिमरा उपमहानगरले पहिलो पटक पञ्चवर्षीय योजना तर्जुमाका लागि स्थानीय स्तरमा सुझाव सङ्कलन सुरु गरेको छ । अगामी ५ वर्षका लागि आवधिक योजना तर्जुमा गर्न उपमहानगरले राजनीति दलका नगर कमिटी प्रतिनिधि, सहकारी तथा  सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक वर्ग र वडास्तरमा जनताहरूको घरदैलोमा पुगेर सुझाव सङ्कलन सुरु गरेको हो ।

उपमहानगर घोषणा भएको ८ वर्षपछि पहिलो पटक आवधिक योजनाका तय गर्न लागेको हो । आवधिक योजना उपमहानगरको आवश्यकता, अवसर, सम्भावना तथा समष्टिगत आर्थिक, सामाजिक, भौतिक, वातावरण,जोखिम, वित्तीय तथा संस्थागत विश्लेषणका आधारमा तयार पारिन्छ ।

यसले उपमहानगरको विकासमा निर्दिष्ट दिशा प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले बताएका छन् । ‘आवधिक योजना तयार गर्न सकियो भने नगरसभामा हुने अधिकांश विवाद आफै अन्त्य हुन्छ’ सहसचिव प्रसाईँले भने ‘हामीकहाँ त वडाहरूसँग अल्पकालीन र दीर्घकालीन कुनै योजनाहरू छैनन्, सबैले आ–आफ्नै खल्तीको योजना पास गर्नुपर्ने दबाबका कारण नै सधैँ नगरसभा विवाद सिर्जना हुने हो ।’प्रसाईँले आवधिक योजना तयार गर्न वडाहरुमा सुझाव सङ्कलन सुरु भइसकेको बताए ।

योजना तर्जुमा गर्ने सिलसिलामा उपलब्ध तथ्याङ्कहरूको विश्लेषण गरेर सम्पूर्ण सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित भई विभिन्न चरण चरणमा छलफल गरिने उपमहानगरले जनाएको छ ।
सार्वजनिक सूचना नै जारी गरेर सरोकारवाला सबैसँग उपमहानगरले सुझाव मागेको छ । ‘अगामी आवधिक योजनामा सोच, लक्ष्य, उद्देश्य, रणनीति, स्रोत परिचालनका उपाय, सामाजिक–आर्थिक रूपान्तरणका कार्यक्रमका  विषय समावेश गरेर विद्यालय, सहकारी, सङ्घ–संस्था, नागरिक समाज, पूर्व जनप्रतिनिधि तथा बुद्धिजीवीहरूबाट सुझाव सङ्कलन गर्दछौ’ प्रमुख प्रशासकीय अधिकृत प्रसाईँले भने ।

आवधिक योजना निर्माणमा राजनीतिक दलहरूको घोषणापत्रलाई पनि महत्त्वपूर्ण आधार मानिने भएकाले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्रकाशन भएका नगर तथा वडा स्तरका घोषणापत्र उपलब्ध गराउन उपमहानगरले आग्रह गरेको छ ।

नगर प्रमुख राजन पौडेलले आवधिक योजनाले समग्र नगर विकासको खाका तय हुने भएकाले सबैको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । उनले उपमहानगर अन्य कामकाजमा अल्झेका कारण आवधिक योजना तयार पार्न ढिला भएको टिप्पणी गरे ।

आवधिक योजना ३ वर्ष वा ५ वर्षका लागि तयार पारिन्छ । बारामा कलैया उपमहानगर ५ वर्षीय आवधिक योजना तयार गरेर कार्यान्वयनको दोस्रो वर्षमा रहेको प्रमुख प्रशासनिक अधिकृत नाथु साहले जनाएका छन् ।

उनले भौगोलिक विविधता, समग्र विशेषता, सहभागिता मूलक तथा समावेशी पक्षहरूलाई समेटेको हुँदा वार्षिक कार्यक्रमहरू पनि यसै अनुसार तर्जुमा गर्न हुने बताए ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले प्रत्येक पालिकाले आवधिक योजना तर्जुमा गर्नुपर्ने र त्यसैका आधारमा वार्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने कानुनी एवं वाध्यात्मक व्यवस्था गरेको छ ।

तर, अधिकांश पालिकाहरूले विभिन्न बहाना बनाएर आवधिक योजनाहरू बिना नै राजनीतिक दल र तिनका जनप्रतिनिधि अनुकूल वार्षिक कार्यक्रमहरू बनाउने, बजेट तयार पार्ने र सोही अनुसार खर्च गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?