वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी

३ दिन अगाडी न्युज डेस्क

वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति  चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ ।

वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामा सुरुङ खनेर भित्र पसेका थिए । उनीहरूले ७ लाख मूल्यका सुनचाँदीका गरगहना, ८० हजार नगद, र विभिन्न महत्त्वपूर्ण कागजात चोरी गरेका छन् ।

सोही क्रममा चोर समूहले छिमेकी दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताए ।

पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता–कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिए ।
घटनाले स्थानीय बलेरीवासी  निकै असुरक्षित महसुस गरिरहेको बताउँदै तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?