मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा तोडफोडको क्रममा कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पूर्वप्रदेश सांसद परमेश्वर साह र लोसपा धनुषाका अध्यक्ष जिवेन्द्र झा धरौटीमा रिहा भएका छन् । उनीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक/एक हजार रुपैयाँ नगद धरौटी लिइ तारिखमा रिहा गरिएको जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार बिहान दुबैजनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो ।
मुख्यमन्त्री सरोज यादवलाई गैर संवैधानिक तरिकाले नियुक्ति गरिएको भन्दै कार्तिक २४ गते सात दलीय गठबन्धन आन्दोलनमा उत्रेको बेला मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्ने क्रममा पूर्वसांसद साह र जिल्ला अध्यक्ष झाले एक कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीमाथि हातपात गरिएको भन्दै ई. दीपेन्द्र साहले दिएको अभद्र व्यवहारको आधारमा उजुरीको आधारमा धनुषा प्रहरीले पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालयमा बुझाएको थियो ।
प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्दै एक कर्मचारीलाई कुटपिट गरेका थिए । कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्तिक २४ गते ज्ञापन पत्र बुझाएका थिए भने ई. साहले उजुरी दिएका थिए ।



