महोत्तरीमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ भने हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वरमा सोमबार बेचन राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा धनुषाको फुलगामाका २० वर्षीय गुड्डु मण्डललाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
जलेश्वर नगरपालिका– ९ स्थित आगेपुरका करिब ६० वर्षीय राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।
मृतक राइनको छोरा सिरातुन राइनले बुवाको टाउकोको पछाडि करिब चार पटक खुकुरीले प्रहार गरिएको र उनको घटनास्थलमै मृत्यु भएको बताए । हत्या गर्ने मण्डल रक्सीको नशामा लठिएको अवस्थामा रहेको बताउँदै सिरातुनले मेरो बुवा कसैसँग झगडा नगर्ने मान्छे रहेकाले राइनको हत्याका कारणबारे आफुलाई थाहा नभएको बताए ।
महोत्तरी प्रहरीका प्रवक्ता भट्टले हत्याको कारण अनुसन्धानपछि मात्र खुल्ने भन्दै हत्या लगत्तै जानकारी पाएपछि प्रहरीले घटनास्थलमा अनुसन्धान थालिएको बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।



