असंवैधानिक र त्रुटिपूर्ण तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारलाई मुख्यमन्त्री निवास खाली गर्नका लागि अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसंग निवास व्यवस्थाका लागि आग्रह गरेका छन् । सोनारलाई फोन गर्दा कुनै प्रतिक्रिया नआएपछि आफूले विभिन्न पार्टी नेतृत्वसंग निवास खाली गराउने विषयमा जानकारी दिएको उनले बताए ।
यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका छन् । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुंगो नलागेसम्म निवास खाली गराउने पक्षमा सात दलीय गबठन्धन छैन । यता निवास खाली गराउनका लागि मुख्यमन्त्री यादव शुक्रबार विहान पनि दलबलसहित खाली गराउने बताइएको छ ।



