बाराको सिमरामा जेन– जी समूहले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने स्थानीय प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेन–जी समूहले प्रदर्शन स्थगित गरेका छन् ।
जेन– जी समूहका अगुवा कपिल खरेलले जिल्ला प्रशासनसंगको संवादपछि प्रदर्शन स्थगित गरिएको प्रतिक्रिया दिए । उनका अनुसार प्रहरी, प्रशासन र जेन– जी समूहबीच शुक्रबार वार्ता हुनेछ । आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेन– जी समूहले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनका क्रममा प्रहरीसंग भएको झडपमा परी छ जना प्रहरी र चार जना जेनजी घाइते भएका छन् । यसअघि जेन– जी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।
बारका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बोलाएको वार्तामा जानका लागि जेन– जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिड्नै लाग्दा जेन– जी समूहबीचमै विवाद भएपछि उनीहरू सिमराको मुख्य बजारमा बैठक बसेका थिए । बुधबार जेन– जीको शान्तिपूर्ण विरोध प्रदर्शनमा अभद्र व्यवहार गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने जेन– जी समूहको माग रहेको छ ।
बाराका प्रहरी उपरीक्षक तामाङले साह प्रहरीको निगरानीमै रहेकाले पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गरेपछि अवस्था सामान्य बनेको छ । साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह रहेका छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा छन् ।
अन्य जेन–जी समूहले आफूहरूको सहमति बिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफलमा बसेका थिए । यता जेन– जी समूहले भने शुक्रबार विहानसम्ममा प्रहरीले पक्राउ नगरेपछि पुनः आन्दोलन गर्ने योजना रहेको जनाइएको छ ।



