पद तथा आचारण अनुकुल काम नगरेको (महाभियोग) आरोपमा पदमुक्त गरिएका सभामुख रामचन्द्र मण्डलले आफूले प्रयोग गर्दै आएका सबै सरकारी सेवा सुविधा फिर्ता गरेका छन् ।
निवर्तमान मण्डलले बिहीबार सरकारी निवास खाली गर्दै प्रदेशसभा सचिवालयलाई सवारीसाधनसमेत बुझाएको हो । महाभियोग घटनामा पछिल्लो पटक विवादित घटनाक्रमपछि बुधबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइ बहुमतले प्रस्ताव पारित गर्दै मण्डललाई सभामुख पदबाट पदमुक्त गरेको घोषणा गरिएको थियो ।
उपसभामुख बबिता कुमार राउत ईशरले छैटौँ अधिवेशनको सातौँ बैठकमा प्रस्तावको पक्षमा ७६ मत परेकाले मण्डल पदमुक्त भएको घोषणा गरेकी थिइन् । मण्डलविरुद्ध पेश भएको प्रस्तावमा सात दलीय गठबन्धनका सांसदहरूको एकमत समर्थन गरेकोमा एमालेबाट दुईजना सांसद उपस्थित भएपनि नियमापति जनाउंदै प्रदेश सभाबाट बाहिरिएको थियो । उनको नियमापतिपछि बैठक स्थगित भएर पुनः बस्दा छलफल शुरु भएको थियो ।
मण्डलले केही दिन अघि पाँच सांसदलाई पदच्युत गर्ने निर्णय गरेको कदमलाई सात दलले ‘अवैध’ र ‘पदीय आचरणविपरीत’ भन्दै विरोध जनाउँदै आएका थिए । यही घटनालाई मुख्य आधार बनाउँदै गत कार्तिक २७ गते सात दलीय गठबन्धनका ६४ सांसदले मण्डलविरुद्ध प्रस्ताव दर्ता गरेका थिए । उपसभामुख ईशरको निर्देशनमा बोलाइएको बुधबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव सदनमा पेस गरेका थिए ।
छलफलका क्रममा जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा, नेकपा एसलगायत दलका सांसदहरूले मण्डलको पछिल्लो कार्यशैलीले सदन ‘अवरोध र संकट’मा पारेको आरोप लगाउँदै प्रस्तावको समर्थनमा धारणा राख्दै मतदान गरेका थिए । लोसपाका उपेन्द्र महतो, जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, नेकपा एसका गणेश पटेल र प्रमोद यादवले छलफलमा भाग लिएका थिए । मत विभाजन प्रक्रियामार्फत ७६ मत प्रस्तावको पक्षमा खसेपछि मण्डल तत्कालै सभामुख पदमुक्त गरिएको उपसभामुखले घोषणा गरेकी थिइन ।



