युक्रेनको विपक्षी दलका सांसद एलेक्सी गोन्चारेन्कोले यहि साता अमेरिकी प्रशासनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसामु प्रस्तुत गरेको भनिएको ‘शान्ति योजना’ सार्वजनिक गरेका छन् ।
मस्को र किभ बिचको शत्रुता अन्त्य गर्ने २८-बुँदे शान्ति योजना भनिएको उक्त दस्तावेज उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । युक्रेनी भाषामा लेखिएको इलेकट्रोनिक दस्ताबेजको ‘स्कृन सट’ जस्तो देखिने दस्ताबेजको विवरण सार्वजनिक भएको छ ।
अमेरिकाले किभलाई आफ्नो नयाँ मस्यौदा योजना प्रस्तुत गरेको विषयलाई भ्लादिमिर जेलेन्स्कीको कार्यालयले आज बिहानै पुष्टि गरिसकेको छ । युक्रेन सरकारले यसको विषयवस्तुको बारेमा विस्तृत रूपमा भने बताएको छैन । यद्यपि यसमा छलफल गर्ने चाहना रहेको उल्लेख गर्दै आफ्ना केहि आशङ्काहरूका बाबजुद सकारात्मक रहेको संकेत गरेको छ।
- गोन्चारेन्कोले सार्वजनिक गरेको दस्ताबेज निम्नानुसार छः
१. युक्रेनको सार्वभौमिकता सुनिश्चित गरिनेछ।
२. रुस, युक्रेन र युरोप बिच पूर्ण र व्यापक स्तरको अनाक्रमण सम्झौता सम्पन्न हुनेछ। विगत ३० वर्ष यताका सबै अस्पष्टताहरू समाधान भएको मानिनेछ।
३. रुसले छिमेकी देशहरूमा आक्रमण गर्ने छैन । साथै नेटो थप विस्तार पनि हुने छैन भन्ने अपेक्षा गरिएको छ।
४. सुरक्षा सम्बन्धी सबै समस्याहरू समाधान गर्न तथा तनाव न्यूनीकरणको अवस्था सिर्जना गर्न संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रुस र नाटो बिच वार्ता आयोजना गरिनेछ । यस्तो वार्ताले विश्वव्यापी सुरक्षा सुनिश्चित गर्नेछ । साथै भविष्यमा आर्थिक विकासका लागी अवसर तथा सहायताहरू बढाउनेछ।
५. युक्रेनलाई भरपर्दो सुरक्षा सुनिश्चितता उपलब्ध गराइनेछ ।
६. युक्रेनको पुरै सशस्त्र बलको आकार (६) लाखको सङ्ख्यामा सीमित हुनेछ।
७. युक्रेनले आफ्नो संविधानमा आफू नेटोमा सामेल नहुने कुरामा सहमति जनाएको छ । साथै नेटोले पनि आफ्नो कानुनमा भविष्यमा युक्रेनलाई समावेश नगर्ने भन्ने प्रावधान समावेश गर्न सहमति जनाएको छ।
८. नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने सहमति जनाएको छ।
९. युरोपेली लडाकु विमानहरू पोल्यान्डमा तैनाथ हुनेछन् ।
१०. अमेरिकाले केहि विषयमा सुनिश्चितता दिलाउनेछ । त्यसको बदलामा उसले क्षतिपूर्ति पाउनेछ। यदि युक्रेनले रुसमा आक्रमण गरेको खण्डमा अमेरिकी सुनिश्चितता गुमाउनेछ। त्यसैगरी यदि रुसले युक्रेनमा आक्रमण गरेको अवस्थामा सबै खाले विश्वव्यापी प्रतिबन्धहरू पुनः ब्युँताइनेछ । साथै नयाँ क्षेत्रहरूको मान्यता र यस सम्झौतामा मार्फत रुसले पाउने अन्य सबै फाइदाहरू रद्द गरिनेछ। यदि युक्रेनले मस्को वा सेन्ट पिटर्सबर्गमा क्षेप्यास्त्र प्रहार गरेको अवस्थामा सुरक्षा सुनिश्चितता खारेज हुनेछ ।
११. युक्रेनले युरोपेली संघ(ईयु)को सदस्यताको अधिकार कायम राख्छ । साथै ईयु प्रवेशको मुद्दा विचाराधीन रहँदाको अवस्थामा युरोपेली बजारमा छोटो अवधिको प्राथमिकता सहितको पहुँच प्राप्त गर्नेछ।
१२. युक्रेनको पुनर्निर्माणको लागि विभिन्न तरिका सहितको एक शक्तिशाली विश्वव्यापी प्याकेज निर्माण हुनेछ । जसमा निम्न कुराहरू समावेश हुनेछन् :
- प्रविधि, डेटा-प्रशोधन केन्द्रहरू तथा कृत्रिम बौद्धिकता(एआई) सहित उच्च-वृद्धि क्षेत्रहरूमा लगानी गर्न युक्रेन विकास कोषको खडा गरिनेछ ।
- अमेरिकाले युक्रेनसँग पाइपलाइन तथा भण्डारण सुविधाहरू सहित युक्रेनको ग्यास पूर्वाधारको संयुक्त पुनर्निर्माण, विकास, आधुनिकीकरण साथै सञ्चालनमा सहयोग गर्नेछ।
- युद्ध प्रभावित क्षेत्रहरूको पुनर्स्थापना गर्न संयुक्त पहल गरिनेछ । त्यसमा शहर तथा आवासीय क्षेत्रहरूको पुनर्निर्माण र आधुनिकीकरण पनि समावेश हुनेछ ।
- पूर्वाधार विकास गरिनेछ ।
- खनिज र प्राकृतिक स्रोतहरूको निकासी समावेश हुनेछ।
- यी पहलहरूलाई तीव्रता दिन तथा प्रभावकारी बनाउनका लागी विश्व बैंकले ‘विशेष वित्तीय प्याकेज’ तयार गर्नेछ ।
१३. रुसलाई वैश्विक अर्थतन्त्रमा पुनः एकीकृत गरिनेछ:
- रुस माथिका प्रतिबन्धहरू हटाउने बारेमा छलफल गरिनेछ । साथै क्रमशः सहमति जनाइनेछ।
- संयुक्त राज्य अमेरिकाले ऊर्जा, प्राकृतिक स्रोत, पूर्वाधार, कृत्रिम बौद्धिकता, डेटा-प्रशोधन केन्द्र, आर्कटिकमा ‘रेयर अर्थ’ खानी सम्बन्धी परियोजनाहरू तथा अन्य एक-आपसमा लाभदायक हुनसक्ने कर्पोरेट अवसरहरूको क्षेत्रमा पारस्परिक विकास गर्ने उद्देश्यले दीर्घकालीन आर्थिक सहयोग सम्झौता गर्नेछ।
- रुसलाई ‘जी-८’ मा पुनरागमनका लागी निमन्त्रणा दिइनेछ ।
१४. हाल ‘फ्रीज'(रोक्का) गरिएका रुसी सम्पत्तिको प्रयोग निम्न अनुसार हुनेछ :
१ सय अर्ब डलर युक्रेनमा अमेरिकाको नेतृत्वमा पुनर्निर्माण तथा लगानी प्रयोग हुनेछ । अमेरिकाले यसबाट प्राप्त हुने नाफाको ५० प्रतिशत प्राप्त गर्नेछ। युक्रेनको पुनर्निर्माणको लगानी बढाउनका लागी युरोपले थप १ सय अर्ब डलर उपलब्ध गराउनेछ । रोक्का गरिएका रुसी सम्पत्ति खुला गरिनेछ । बाँकी रहेको रोक्का रुसी सम्पत्ति छुट्टै ‘अमेरिकी-रुसी लगानी’ योजना बनाएर त्यसमा लगानी गरिनेछ ।
जसले संयुक्त रूपमा निर्धारित क्षेत्रमा अमेरिकी-रुसी परियोजना सञ्चालन गर्नेछ । यो कोष द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा दुवै मुलुकका साझा हितहरू बढाउने उद्देश्यमा केन्द्रित हुनेछ । त्यसो गर्दा पुनः द्वन्द्व नहोस् भन्ने वातावरण बनाउनेमा जोड दिइनेछ ।
१५. यस सम्झौताका सबै प्रावधानहरू कार्यान्वयनको काम सहज बनाउन तथा सुनिश्चित गर्न सुरक्षा मुद्दाहरूबारे संयुक्त अमेरिकी-रुसी कार्यदल स्थापना गरिनेछ।
१६. रुसले युरोप तथा युक्रेनप्रति अनाक्रमणको नीतिलाई कानुनी रूपमै स्थापित गर्नेछ।
१७. अमेरिका र रुस ‘स्टार्ट-१’ लगायत आणविक हतियार तथा हतियार नियन्त्रणबारेका अप्रसारमा सन्धिहरूको वैधतालाई थप विस्तार गर्न सहमत हुनेछन्।
१८. आणविक हतियारको अप्रसार सम्बन्धी सन्धि अनुसार युक्रेन गैर-आणविक राज्य रहनका लागि सहमत छ।
१९. जापारोजिया आणविक ऊर्जा केन्द्र ‘आईएईए’ को पर्यवेक्षणमा पुनः सुचारु हुनेछ । साथै त्यहाँबाट उत्पादित बिजुली रुस र युक्रेन बिच समान रूपमा(आधा-आधा) बाँडिनेछ ।
२०.रुस र युक्रेन विद्यालय तथा समाजमा विभिन्न संस्कृतिहरूको आपसी समझदारी एवम सहिष्णुता कायम गर्ने गरी, नस्लवाद तथा जातिय पूर्वाग्रह उन्मूलनलाई सघाउ पुग्ने गरी शैक्षिक कार्यक्रमको थालनी गर्न प्रतिबद्ध रहनेछन्
- युक्रेनले धार्मिक सहिष्णुता तथा भाषिक अल्पसङ्ख्यकहरूको संरक्षण बारे युरोपेली संघका नियमहरू लागु गर्नेछ।
- दुवै देश सबैखाले भेदभावपूर्ण तरिकाहरू हटाउन तथा युक्रेनी एवं रुसी संचार माध्यम र शिक्षाको अधिकारको सुनिश्चितता गर्न सहमत छन्।
- सबै खाले नाजी विचारधारा तथा गतिविधिलाई खारेज एवं निषेध गर्नुपर्नेछ।
२१. भौगोलिक क्षेत्रहरू बारे:
- क्रिमिया, लुहान्स्क तथा डोनेट्स्कलाई वास्तविक(डि-फ्याक्टो) रूपमा रुसी भूमिको मान्यता दिइनेछ।
- खेरसन तथा जापोजियामा हाल रहेको सम्पर्क रेखा(लाइन अफ कन्ट्याक्ट) हालकै अवस्थामा रहनेछ । त्यसको अर्थ हालको सम्पर्क रेखालाई ‘डि-फ्याक्टो’ मान्यता दिलाइनेछ।
- रुसले हाल उसको नियन्त्रणमा रहेका पाँच क्षेत्रहरू बाहेक अन्य क्षेत्रहरू (सम्भवतः खार्कोभ, सुमी एवं डिनाइप्रोपेट्रोभस्क ओब्लास्ट ) माथिको दाबी त्याग्नेछ ।
- युक्रेनी सेनाहरू हाल नियन्त्रणमा रहेको डोनेस्क ओब्लास्टको भागबाट फिर्ता हुनेछन् । यसरी फिर्ता हुने क्षेत्रलाई तटस्थ निःशस्त्रीकृत बफर क्षेत्र मानिनेछ । रुसी सेनाहरू यस निःशस्त्रीकृत क्षेत्रमा प्रवेश गर्ने छैनन्।
२२. भौगोलिक सीमाबारे सहमति भएपछि रुस र युक्रेन दुवैले बल प्रयोग गरेर यी व्यवस्थाहरू परिवर्तन नगर्ने प्रतिबद्धता जनाउँनेछन। त्यस्तो प्रतिबद्धता उल्लङ्घन भएको अवस्थामा कुनै पनि सुरक्षा सुनिश्चितताहरू लागु हुने छैनन्।
२३. रुसले युक्रेनको डिनापर नदीको व्यावसायिक प्रयोगमा अवरोध पुर्याउने छैन । ‘ब्ल्याक सी’ पार गरेर हुने अन्नको ढुवानीबारे सम्झौता गरिनेछ।
२४. बाँकी रहेका विषय हल गर्नका लागी ‘मानवीय समिति’ गठन गरिनेछ:
- बाँकी रहेका सबै बन्दिहरु तथा शवहरू आपसमा फिर्ता गरिनेछ ।
- बालबालिकाहरू सहित सबै नागरिक बन्दी एवं बन्धकहरू फिर्ता गरिनेछ।
- परिवार पुनर्मिलन कार्यक्रम लागू गरिनेछ।
- द्वन्द्व पीडितहरूको पीडा कम गर्ने विविध उपाय अवलम्बन गरिनेछ।
२५. सम्झौतामा हस्ताक्षर भएको १ सय दिन पछि युक्रेनमा निर्वाचन गरिनेछ ।
२६. द्वन्द्वमा संलग्न सबै पक्षहरूले युद्धको समयमा गरिएका कामका लागि पूर्ण आममाफी पाउनेछन् । तथा त्यसबारे भविष्यमा कुनै दाबी दर्ता नगर्ने एवं उजुरीहरू अघि नबढाउने प्रतिबद्धता गर्नेछन्।
२७. यो सम्झौता कानुनी रूपमा बाध्यकारी हुनेछ। यसको कार्यान्वयनको अनुगमन र ग्यारेन्टी राष्ट्रपति ट्रम्पको नेतृत्वमा रहेको शान्ति परिषद्ले गर्नेछ। उल्लङ्घनको घटना फेला परेको अवस्थामा पूर्वनिर्धारित प्रतिबन्धहरू पुनः लागु हुनेछन्।
२८. सबै पक्षहरूले यस ‘मेमोरेण्डम’मा सहमति जनाएपछि तथा हस्ताक्षर गरेपछि एवं सम्झौतामा उल्लेखित स्थानमा फर्किए लगत्तै युद्धविराम लागु हुनेछ । त्यसपश्चात सम्झौताको कार्यान्वयन सुरु हुनेछ ।
(आरटीबाट



