काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुन नदिने बताएका छन् । कांग्रेसभित्रको संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग शुक्रबार बिहान भएको भेटमा कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशन हुने वातावरण निर्माण हुन आफूले नदिने बताएका हुन् ।
‘कार्यवाहक सभापतिज्यूले विशेष महाधिवेशन हुने अवस्था आउन नदिने बताउनुभयो । उहाँले विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर भेरिफिकेसन हुने अवस्था आउन नदिने आश्वासन दिनुभयो,’ राणाले कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘पार्टीमा अल्पमत बहुमतको अवस्था आउन नदिई सहमतिबाट अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छु ।’
पार्टीमा पछिल्लो समय देखिएको महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि १५ औँ महाधिवेशनको प्रक्रिया मङ्सिरमा सुरु गर्ने र सकभर पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आफूहरूको त्यो प्रस्तावबारे खड्कालाई जानकारी गराएपछि खड्काले त्यस्तो बताएको राणाले जानकारी दिए ।
उनीहरूले कार्यवाहक सभापति खड्कालाई भेटेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि एकै ठाउँमा भेटेका थिए । महामन्त्रीद्वय थापा र शर्माले पनि पार्टीलाई फुटको अवस्थामा पुग्न नदिने र सकभर मिलाएर अगाडि बढ्ने प्रयास गर्ने बताएका राणाले बताए ।



