सांकेतिक:तस्बीर
पर्सा,श्रीनारायण-महतो १० बैशाख-सामुहिक विष सेवन गरी आत्महत्या गर्न खोज्ने रौतहटका एकै परिवारका ३ जना मध्ये २ जनाको उपचारको क्रममा आज वीरगंजमा मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ निवासी रामलाल महतो कोइरीकी ३५ वर्षीया श्रीमती सोनावती महतोले गएराति १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई बिष सेवन गराई आफू पनि सेवन गरेको प्रहरीले जनाएको छ ।
बिष सेवनपछि अवस्था गम्भीर भएको र परिवारले थाहा पाए लगतै तीनै जनालाई मौलापुरको एक क्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा आमा सोनावती र छोरी सोनी कुमारीको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरा दिपक महतोको भने गम्भिर अवस्थामा उपचार भई रहेको छ । घरायसी विवादको क्रममा सोनाकुमारीले छोरा छोरीलाई खानामा विष मिसाई खुवाएर आफूले समेत विष सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले बताउनु भयो ।