बाराको एक उद्योगले काम गर्ने मजदुरलाई निकालेको झोकमा प्रबन्धककै हत्या गरेको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको प्रसौनी गाउँपालिका–६ स्थित किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का २१ वर्षीय राजनकुमार राम र स्थानीय ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन् । सिंहको हत्या गरेर फरार भएको भन्दै उनीहरूलाई प्रहरीले घटना भएको एक दिन नबित्दै नियन्त्रणमा लिएको थियो ।
भारतीय सीमा क्षेत्रबाट मंसिर १२ गते राति नै पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति लिएपछि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले मंसिर ११ गते राति पानी उद्योगका प्रबन्धक सर्लाही धनकौल गाउँपालिका–२ का ५० वर्षीय सिंहलाई धारिलो हतियारले रेटेर हत्या गरेका थिए ।
हत्यापछि उनीहरुले सिंहको शवलाई उद्योग भन्दा करिब २५ मिटर उत्तरतर्फको झाडीमा लुकाएर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा उद्योगमा चालकको रुपमा कार्यरत रामको संलग्नता हुनसक्ने देखेपछि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ । राम उक्त उद्योगमा चालकको रुपमा कार्यरत थिए । आचरण राम्रो नभएको भन्दै प्रबन्धक सिंहले उनलाई मंसिर १० गते कामबाट हटाएका थिए भने मंसिर ११ गते काम गरेवापतको ज्याला दिइ पठाएका थिए ।
उद्योगबाट उत्पादित पानी व्यक्तिगत मुनाफाका लागि बजारमा बढी मूल्यमा बिक्री गर्ने गरेको थाहा पाएपछि प्रबन्धक सिंहले रामलाई हटाएको प्रहरीले बुझाइ छ । सिंह र रामबीच अघिल्लो वर्षको मंसिर महिनामा समेत वादविवाद भएको थियो । वादविवादपछि उद्योग छोडेर गएका राम कार्तिक १ गतेदेखि पुनः चालकका रुपमा काम गर्दै आएका थिए ।
प्रबन्धक सिंह र चालक रामबीचको सम्बन्ध राम्रो थिएन । पछिल्लो पटक कार्तिक १० गते कामबाट हटाएपछि रामले सिंहको हत्या गर्ने योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिंहले वीरगञ्जस्थित एक होटलमा प्रमोद साह तुरहासंग मदिरा सेवन गर्दै हत्याको योजना बुनेका थिए ।
योजनाअनुसार वीरगञ्जबाट राति करिब १० बजे उद्योगमा आएका उनीहरुले सिंहमाथि धारिलो हतियार र इँट्टा प्रहार गरेर हत्या गरेका हुन् । सो क्रममा उनीहरुले उद्योग भित्रको सीसीटीभी क्यामरा समेत फुटाएका थिए । घटनालगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुवँर र अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको टोलीले अनुसन्धान थालेको थियो ।
अनुसन्धाका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । पक्राउ परेका अभियुक्त रामले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । रामले आफूलाई कामबाट हटाएको आवेशमा सिंहको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताइन्छ ।
तुरहा र आफू मिलेर सिंहको हत्या गरेको बयान रामले दिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज भएको प्रहरीले जनाएको छ । बाराका निमित्त प्रहरी प्रवक्तासमेत रहेका सूचना अधिकारी खेमप्रसाद नेपालले हत्यामा प्रयोग गरिएका धारिलो हतियार समेत बरामद भएको जानकारी दिए । उनीहरुविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



