नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी १५ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । तर पार्टीलाई एकतावद्ध बनाउन सकिने हो भने सभापति पद निर्विरोध बनाउनुपर्ने उनको धारणा छ । डेढ महिनादेखि चलिरहेको आन्तरिक बहसपछि कांग्रेसले पुस २६–२८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । निधि यसअघि चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा थिए । तर सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि उनी र उनको समूह पनि पुसमै महाधिवेशन गर्न सहमत भएको बताए ।
“महाधिवेशन गर्ने निर्णय सर्वसम्मत भइसकेपछि अब हुँदैन भन्न मिल्दैन,” निधिले भने । उनको नेतृत्वमा रहेको समूह अहिले करिब ९० जनासम्म पुगेको छ र सभापति पदमा उम्मेदवारी दिने वा नदिने बारे छिट्टै निर्णय हुने उनले बताए । निधिले पार्टीभित्रका केही नेताहरूले सभापति देउवालाई नै सक्रिय गराउँदै महाधिवेशन पुसमै गर्न दबाब दिएको दाबी गरे ।
“एकातिर देउवाजीलाई हटाउनुपर्छ भन्छन्, अर्कातिर उहाँकै आशीर्वाद खोज्छन्,” उनले कटाक्ष गरे । उनका अनुसार शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू समूहमा जोडिँदै आएका छन् । निधिले कांग्रेसले संविधान र लोकतन्त्र जोगाउने नेतृत्व दिनुपर्ने समय आएको बताएका छन् । “व्यक्तिमुखी प्रचार होइन, सहमतिको नेतृत्व चाहिएको बेला हो । सभापति निर्विरोध बने राम्रो हुन्छ, नभए प्रतिस्पर्धा गर्छु,” उनले भने । विशेष महाधिवेशनबारे उनले भने, “केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मतिले पास गरिसकेको छ, विशेष महाधिवेशनको औचित्य सकिएको छ ।”



