मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले आधुनिक युगमा बढदै गएको सूचना प्रविधिको बढीभन्दा बढी प्रयोग गर्न आग्रह गरेका छ्न ।
आम सञ्चार प्राधिकरणद्वारा आयोजित कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी प्रशिक्षण कार्यशाला गोष्ठीमा अर्थमन्त्री यादवले सूचना प्रविधि र एआइको प्रयोगले शासन प्रणालीलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउन सकिने उल्लेख गरे ।
यस्ता प्रविधिको सही उपयोगले सेवा प्रवाह छरितो बनाउने र जनताको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले पत्रकारिता क्षेत्रमा पनि एआइको प्रयोगले तथ्यपरक, छिटो र विश्वसनीय समाचार सम्प्रेषणमा मद्दत गर्ने विश्वास व्यक्त गरे । मन्त्री यादवले जनप्रतिनिधि, सरकार, सञ्चार माध्यम र नागरिक समाज सबैले जनताप्रति दायित्वबोधका साथ काम गर्नुपर्ने बताए ।
‘जनताको असन्तुष्टि हाम्रो कामप्रतिको ऐना हो,’ उनले भने, ‘यसलाई बेवास्ता नभई आत्मसमीक्षाको आधार बनाउनुपर्छ ।’ हरेक विषयमा जनता असन्तुष्ट देखिनु सामान्य कुरा नभएको उल्लेख गर्दै उनले यसका मूल कारण पहिचान गरी समाधानतर्फ अग्रसर हुन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न सो तालिममा सहभागी वक्ताहरूले एआइ प्रविधिको जिम्मेवार प्रयोग, मिडिया साक्षरता र जनताको विश्वास जित्ने पत्रकारिताको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन ।



