मधेस प्रदेशमा नेपाली कांग्रेसको सदस्यता नवीकरण र उम्मेदवार सिफारिस प्रक्रिया अझै टुङ्गिएन

३ मिनेटutes अगाडी न्युज डेस्क

मधेस प्रदेशमा नेपाली कांग्रेसको सदस्यता नवीकरण र उम्मेदवार सिफारिस प्रक्रिया अझै टुङ्गिएन

जनकपुरधाम । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मधेस प्रदेशमा टुङ्गिन सकेको छैन । सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुँदै आएका बैठक निष्कर्षहीन बन्दै गएको देखिएको छ ।

धनुषामा के छ अवस्था ?

धनुषा जिल्लामा क्रियाशील सदस्यता विवाद समग्र रूपमा ठुलो नरहेको नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताए । उनका अनुसार केही वडामा फारम सम्बन्धी सामान्य समस्या देखिए पनि दुई–तीन दिनभित्र सबै टुङ्गो लगाएर केन्द्रमा पठाउने तयारी छ ।

धनुषामा नयाँ सदस्यता ५ देखि ६ हजारको संख्यामा वितरण हुने र नवीकरण १८ देखि २० हजारसम्म हुने उनले जानकारी दिए ।

महोत्तरीमा के छ अवस्था ?

महोत्तरीमा १० देखि १३ हजारसम्म सदस्यता नवीकरण भएको छ भने करिब ५ हजार नयाँ सदस्यता थपिने अनुमान रहेको महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार फारममा नम्बर उल्लेख गर्दा केही प्राविधिक त्रुटि देखिए पनि जिल्लामा ठुला विवाद छैनन् । यद्यपि सबै प्रक्रिया टुङ्ग्याउन केही समय लाग्ने उनले बताए ।

सर्लाहीमा विवादित

सर्लाहीमा भने सदस्यता वितरण र नवीकरण प्रक्रिया विवादित बनेको छ । कार्यवाहक सभापति डा. सरोज कुमारका अनुसार हालसम्म दुई हजार सिरियल नम्बरसम्मका फारमको मात्र प्रक्रिया अघि बढेको छ । नयाँ सदस्यताका लागि नम्बरिङमै विवाद रहेकाले तोकिएको समयमा काम सम्पन्न हुन असम्भव देखिएको उनको भनाइ छ । क्षेत्र–क्षेत्रमा विवाद रहेकाले विवाद टुङ्ग्याउन थप समय आवश्यक रहेको उनको भनाइ छ ।

पर्सामा ६० प्रतिशत काम सम्पन्न

पर्सा कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार सदस्यता सूचीकरणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले किसानहरू धान काट्नेदेखि अन्य कृषि कार्यमा व्यस्त रहेकाले तत्काल सदस्यता टुङ्गो लगाउन कठिन रहेको उनले बताए । जिल्लामा ठुलो विवाद नरहेको उनले प्रस्ट पारे ।

बारामा पनि टुङ्गिएन विवाद

बाराका कांग्रेस सभापति राजेश राय यादवका अनुसार क्रियाशील सदस्यता सम्बन्धमा केही असहमति देखिए सुल्झाउने प्रयास जारी छ । हालसम्म सदस्यता विवादको टुङ्गो लाग्न नसकेकाले थप समय आवश्यक रहेको उनले बताए ।

बारा कांग्रेसका सचिव राजेश रौनियारले भने क्षेत्रीय सभापतिले नै बदमासी गरेको आरोप लगाएका छन् । उनका अनुसार क्षेत्र नं. १ र ३ मा खासै समस्या नरहे पनि क्षेत्र नम्बर २ र ४ का सभापतिहरूले विधानविपरीत कार्य गरेका छन् । त्यसमा जिल्ला सभापतिले समेत साथ दिएको उनको आरोप छ ।

सप्तरीमा १० प्रतिशतमात्र टुङ्गियो

सप्तरी कांग्रेसका सभापति रामदेव साहका अनुसार हालसम्म सदस्यता विवाद करिब १० प्रतिशतमात्र टुंगिएको छ । विवाद समाधानको प्रयास भइरहेको जनाउँदै उनले यसका लागि केही दिन समय लाग्ने प्रस्ट पारे । नयाँ सदस्यता वितरणको काम भर्खरैमात्र सुरु भएको उनको भनाइ छ ।

सिरहामा ५० प्रतिशत विवाद टुङ्गियो

सिरहामा करिब ५० प्रतिशत सदस्यताको टुङ्गो लागिसकेको छ । सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवका अनुसार क्षेत्र नं. २ र ४ मा लगभग प्रक्रिया सम्पन्न भइसकेको छ भने अन्य क्षेत्रमा बाँकी छ ।

किसानहरू व्यस्त रहेका कारण वडा बैठकहरू निष्क्रिय रहेकाले तोकिएको समयभित्र काम सक्न कठिन देखिएको उनले बताए । नयाँ सदस्यताका फारममा नम्बरिङ नभएकाले अन्योल बढेको भए पनि केन्द्रसँग छलफल भइसकेको र छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे ।

रौतहटमा ८० प्रतिशत काम सम्पन्न

रौतहट कांग्रेसका सचिव मिथिलेश मिश्रका अनुसार जिल्लामा करिब ८० प्रतिशत सदस्यता नवीकरण सम्पन्न भइसकेको छ । जिल्लामा कुनै ठुलो विवाद नरहेको उनको दाबी छ ।

नयाँ सदस्यताको हकमा ७५ प्रतिशत केन्द्रबाटै क्षेत्रलाई दिइएको र बाँकी २५ प्रतिशत नवीकरणपछि वितरण गर्ने निर्णय गरिएको उनले बताए ।

समग्रमा, मधेश प्रदेशका अधिकांश जिल्लामा नेपाली कांग्रेसको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया विवाद, प्राविधिक समस्या र समय अभावका कारण प्रभावित बनेको छ । समयसीमा थपेर विवाद समाधान गर्नुपर्ने सबैजसो जिल्ला नेतृत्वले जनाएको छ ।

यता क्रियाशील सदस्यता विवाद छानविन समितिका संयोजक महेन्द्र यादवले सबै जिल्लाका पदाधिकारीहरूलाई पार्टीको विधान र प्रक्रिया अनुसार चल्न अनुरोध गर्दै प्रक्रिया मिचेर वा धाँधली गरेमा स्विकार्य नहुने बताए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?