बहुप्रतिक्षीत मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने

१२ मिनेटutes अगाडी न्युज डेस्क

बहुप्रतिक्षीत मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने

जनकपुरधाम । बहुप्रतिक्षित मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने भएको छ । फिल्मका निर्देशक अरुण विजयाले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आगामी पुस ४ गते जनकपुरधामस्थित आशा सिनेमा हलबाट फिल्म प्रदर्शनमा ल्याइने जानकारी दिएका हुन् ।

सेन्सर पास गरेपछि पहिलोपटक जनकपुरधामको सिनेमा हलबाट फिल्म रिलिज गर्न लागिएको निर्देशक विजयाले बताए । उनका अनुसार जनकपुरधामपछि नेपालभर रहेका मैथिली दर्शक बढी भएका सिनेमा हलहरूमा समेत फिल्म क्रमशः रिलिज गरिनेछ ।

सामाजिक कथावस्तुमा आधारित मैथिली फिल्म ‘कलकतियावाली’ यसअघि विभिन्न स्थानमा प्रदर्शन भइसकेको भए पनि सिनेमा हलमार्फत पहिलोपटक जनकपुरधाममा रिलिज हुन लागेको हो ।

लभ यु मिथिलाको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा श्याम शशी, इशिका भुजेल र रामनारायण ठाकुरको अभिनय छ । प्रमोद मनोजको संगीत रहेको फिल्मका सबै गीतहरू सुपरहिट भइसकेका छन् ।

दर्शकको सकारात्मक चासो र प्रतिक्रियालाई मध्यनजर गर्दै २८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फिल्म ‘कलकतियावाली’ मैथिली सिनेमा जगतमा एउटा माइलस्टोन सावित हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?