महोत्तरीमा नेपाली काङ्ग्रेस एक्लै चुनाव लड्ने : सभापति यादव

१९ घन्टा अगाडी न्युज डेस्क

महोत्तरीमा नेपाली काङ्ग्रेस एक्लै चुनाव लड्ने : सभापति यादव

महोत्तरी — नेपाली काङ्ग्रेस महोत्तरीले आउँदो निर्वाचनमा कुनै पनि प्रकारको गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट अडान लिएको छ।

पार्टीका महोत्तरी सभापति नागेश्वर यादवले जिल्लामा पार्टी बलियो अवस्थामा रहेकाले गठबन्धनको आवश्यकता नरहेको बताउँदै केन्द्रबाट जबर्जस्ती गठबन्धनको निर्णय आए पनि त्यसलाई स्वीकार नगर्ने चेतावनी दिएका छन्।

नेपाल प्रेस युनियन महोत्तरीद्वारा आयोजित ‘महोत्तरी साक्षात्कार’ कार्यक्रममा बोल्दै सभापति यादवले महोत्तरीको राजनीतिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै केन्द्रबाट गठबन्धन थोपर्ने प्रयास भए त्यसविरुद्ध जिल्ला कमिटी दृढतापूर्वक उभिने बताए।

“महोत्तरीमा नेपाली काङ्ग्रेस बलियो अवस्थामा छ। जनताको विश्वास काङ्ग्रेसप्रति छ, त्यसैले गठबन्धनको आवश्यकता छैन,” उनले भने।

सभापति यादवले स्थानीय तहदेखि प्रतिनिधिसभासम्म पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको दाबी गर्दै अघिल्ला चुनावमा गठबन्धनका कारण पार्टी कार्यकर्ता निरुत्साहित भएको र संगठन कमजोर बनेको अनुभव रहेको उल्लेख गरे। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र स्थानीय तहको निर्णयको सम्मान हुनुपर्नेमा जोड दिए।

नेपाली काङ्ग्रेस महोत्तरीको यो अडानसँगै आगामी निर्वाचनमा जिल्लाको राजनीतिक समीकरण थप रोचक बन्ने संकेत देखिएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?