मुख्यमन्त्रीले विश्वासको मत आज लिने

५ घन्टा अगाडी न्युज डेस्क

मुख्यमन्त्रीले विश्वासको मत आज लिने

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ ।

मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै मधेश प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । मुख्यमन्त्रीको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६८ अन्तर्गतको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र पठाइएको हो ।

संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो ।

नियुक्तिपछि संविधानिक प्रावधानअनुसार तोकिएको समयसीमाभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले विश्वासको मतसम्बन्धी कार्यसूची तयारी र आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ । यसैबीच मधेश प्रदेश सभाको सभामुख पदका लागि आइतबार निर्वाचन शुरु हुने भएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको जानकारी गराउँदै पुष ६ गते आइतबार सभामुख चयनका लागि मतदान हुने बताइन् । प्रदेश सभामा सभामुख पद लामो समयदेखि रिक्त रहँदै आएको सन्दर्भमा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको उपसभामुख ईशरले सदनलाई जानकारी गराइन् ।

उनले सभामुखको जिम्मेवारी उपसभामुखको हैसियतमा निर्वाह गर्दै आएको उल्लेख गर्दै अब नियमित प्रक्रियाअनुसार सभामुख चयन गर्न लागिएको बताइन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?