चितवन १३ बैशाख -माडी नगरपालिका बिपद् व्यबस्थापन समितिले नगरका १८ सय ७३ लकडाउन प्रभावित परिवारलाई तेस्रो चरणमा राहत प्रदान गरेको जनाएको छ । व्यक्ति र संघसंस्थाको विभिन्न खाले सहयोग संकलन गर्दै श्रमिक र लकडाउन प्रभावितहरुलाई सहयोग जारी राखिएको समिति संयोजक भागिरथ बस्यालले जानकारी दिनुभयो ।
तेस्रो चरणमा गरी माडी नगरपालिका २ का १७५,माडी ३ का २७७,माडी ४ का १२२,माडी नगरपालिका ५ का १७२,६ का २०२,वडा नं ७ का १५२ जना,८ का २०८ र ९ का ५५५ वटा परिवार लाभान्वित भएका छन् । माडी १ को तथ्यांक भने आई नसकेको जनाइएको छ । दैनिक ज्याला मजदुरी गरी परिवार पाल्ने गरेकाहरु लकडाउनका कारण समस्यामा पर्नसक्ने भन्दै कोषले बिपन्न र श्रमजिवीहरुलाई राहत वितरण थालेको थियो । राहत वितरणको कार्यलाई भोलीसम्म मात्र निरन्तरता दिइने भएको छ ।
यसैबिच,कोषले हालसम्म ४८ हजार ३ सय २५ किलोग्राम बढी चामल व्यबस्थापन गरेको छ भने अन्य सहयोग स्वरुप समेत आएका छन् । अन्य वितरण गरिएको तर करिब २० कुइन्टल चामल भने वडा स्तरीय क्वारेन्टाइनमा रहनेहरुको व्यबस्थापनार्थ राखिएको जनाइएको छ । कोषलाई नगद तथा खाद्यन्न सहयोग जारी रहेको छ ।
यसैबिच,उद्योग बाणिज्य संघ चितवनले १० क्विन्टल ८० किलो चामल प्रदान गरेको छ । उद्योग बाणिज्य संघ चितवनले आज सो बराबरको खाद्यन्न सहयोग हस्तान्तरण गरेको उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो । संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग बाणिज्य संघ माडीका अध्यक्ष आचार्यले संयुक्त रुपमा खाद्यन्न माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।